पर्सा । पर्सामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको जिराभवानी गाउँपालिका–५ शंकरसखुवनियामा बाघको आक्रमणबाट ६० वर्षीय तुलसी राउत थारुको मृत्यु भएको हो ।
प्रहरीका अनुसार शुक्रबार बिहान घाँस काट्न गाउँ नजिकैको जङ्गल गएका थारुमाथि बाघले आक्रमण गरेको थियो । उनको दाहिने खुट्टा र बाँया हात बाघले खाएको अवस्थामा सुगिभार नजिकको नर्सरीमा शव फेला परेको हो। शव फेला परेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढाथापाका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरेर शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाएको छ ।