७ असोज, काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको बैठक निष्कर्षबिहिन भएको छ । रक्षामन्त्रालयमा जारी बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेसका रमेश लेखक, एमालेका महेश बर्तौला, रास्वपाका रवि लामिछाने, जसपाका प्रदीप यादव लगायतका प्रमुख दलका सचेतक प्रमुख सचेतक नेता सहभागी थिए । तर उक्त छलफलमा सहमति भने जुट्न सकेन ।
छानबिन आयोगबारे सरकारले तयार पारेको मस्यौदामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिमती जनाएको हो । एमालेले आफूहरुले सुन प्रकरणको जरैसम्म पुग्नुपर्ने माग राखेपनि सरकार भने कानून परिमार्जन गर्नेतर्फ जोड दिएकाले सहमती हुन नसकेको बताएको छ ।
भदाै ५ गते आयोग गठनका बारेमा भएको सर्वदलीय सहमतिमा पछिल्लो समय भएका ठूला सुन तस्करीका घटना ६० किलो सुन प्रकरण, भेपमा लुकाएर ल्याइएको ९ किलो सुन प्रकरणमा समेत आयोगले आनुसन्धान गर्ने उल्लेख थियो । तर भेप प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि जोडिएकाले माओवादीले भेप प्रकरणमा छानबिन गर्न नचाहेको एमालेको बुझाई छ । तर सरकारले भने त्यसो नभएको बताउँदै आएको छ ।
यसअघि शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न बसेको बैठक पनि निष्कर्षविहिन भएको थियो ।