काठमाडौं । बुधबार एकै दिन झण्डै १० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरजसो तिब्र उतारचढाब आएको बजारमा पछिल्लो २ वर्षयाताकै उच्च रकमको सेयर खरिद बिक्री भएको हो ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार बुधबार नेप्से परिसूचक १२.१० अंकले घटे पनि कारोबार रकम भने ९ अर्ब ७६ करोड पुग्यो । बुधबारको सेयर कारोबार रकम पछिल्लो २ वर्षयताकै उच्च हो भने हिजोको कारोबार रकम भन्दा एक अर्ब ७४ करोडले बढी हो । मंगलबार ८ अर्ब २ करोड रुपैयाँको सेयर खरिद बिक्रि भएको थियो ।
हाइड्रो र होटल समूहले नाफा बुक गर्दा झिनो अंकले घटेको बजारमा र परिसूचक २१ सय ६३.६ अंकमा रोकिएको छ । आज दोस्रो बजारमा सूचीकृत ३ सय कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर खरिद बिक्री भयो ।
आज ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयर हाउजिङ कम्पनीका लगानीकर्ताले दोस्रो बजारमा १० प्रतिशतले कमाए । यस्तै हिमालय रि इन्स्योरेन्स कम्पनीको सेयर मूल्य आज पनि सकारात्मक सर्किट लेबलमा कारोबार भयो । आज इष्र्टन हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले दोस्रो बजारमा धेरै गुमाए ।