काठमाडौँ । पशुपतिनाथमा आयोजना गरिएको कोटीहोमस्थलमा शुक्रबार राति भएको घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णु कुमार थापा सदस्य छन् भने जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुपम पौडेल सदस्य सचिव छन् । समितिलाई अध्ययन गरी प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ ।
कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मुर्ति भनिने विजय भण्डारीलाई प्रहरीले पक्राउ गर्न खोजेपछि शुक्रबार राथि पशुपतिमा केही बेर तनाब भएको थियो । भण्डारी सहित समर्थकहरु नाराबाजीमा उत्रिएका थिए । गौशला प्रहरी वृतबाट खटिएका प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको भन्दै भण्डारीले समर्थकहरुलाई प्रतिवाद गर्न आग्रह गर्दै फेसबुक पेजमा लाइभ गरेका थिए।
केहि बेर भण्डारीका समर्थक र प्रहरी बिच ठेलमठेल चलेको थियो । त्यसपछि प्रहरी कोटिहोमस्थलबाट फर्किएको थियो।
प्रहरी पुुगेपछि आक्रोशित भण्डारीले प्रहरीले आफूूलाई फसाउन खोजेको भन्दै आन्दोलन गर्ने समर्थकहरुलाई आदेश दिएका थिए । साथै उनले अब आन्दोलन चर्किने, बंगलादेशको अवस्था आउने भन्दै उत्तेजक नाराबाजी गरेका थिए ।