काठमाडाैँ । साउदी अरब जान भनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका पाल्पाका विक्रम पंगेनी ११ दिन देखि सम्पर्क विहीन भएको छन् ।
४५ दिनको घरबिदामा आएका पाल्पाको पूर्वखोला गाउँपालिका १ माझकोटका २३ वर्षीय विक्रम साउदी अरब फर्किन भनी पुस ६ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
फ्लाइ दुबईमार्फत २२ डिसेम्बर २०२३ पुस ६ गते ००ः४५ मा काठमाडौंबाट उडेर दुबई हुँदै ९ः०० बजे रियाद जाने टिकट लिएका पङ्गेनीको फ्लाइट छुटेपछि राति ११ः२० मा विमानस्थलबाट बाहिरिएको देखिएपनि उनी सम्पर्कमा नआएको विक्रमका दाइ सागर पंगेनीले बताए ।
परिवारका अनुसार अन्तिम पटक विक्रमले सामान चेकजाँच भैसकेको भनेर विमानस्थलबाट फोन गरेका थिए ।
विमानस्थलको सिसिटिभी फुटेज हेर्दा राति साढे ११ बजेतिर विक्रम बाहिर निस्केर प्रतीक्षालयसम्म पुगेको र त्यहाँ एक जना मानिससँग कुरा गरेको जस्तो देखिएको तर त्यसपछि उनी कहाँ गए भन्ने पत्ता नलागेको परिवारले जनाएको छ ।
करिब १८ महिनाअघि रोजगारीको सिलसिलामा साउदी अरब गएका विक्रम ४५ दिनको बिदामा घरमा आएका थिए ।विक्रमको खोजी गरिदिन परिवारले सबै निकायमा निवेदन गरेपनि कतैबाट चासो नदेखाएको परिवारले गुनासो गरेका छन् ।