काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (माघ ९ गते मंगलबार) देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्गमा रोक लगाउने भएको छ । यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङका सुविधा उपलब्ध गराइने महानगरले जनाएकाे छ ।
साे ठाउँमा ३ सय वटा चार पाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिने महानगरकाे दाबी छ । 'भोलिदेखि पार्किङ् निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ' महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने ।
उनका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ् निषेध गरिनेछ । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ् निषेध कार्यान्वयन गरिसकिएको छ ।