बागलुङको ढोरपाटनका मेयरसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले रेड कर्नर नोटिस जारी गरेको छ ।
बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २ अर्ब रुपैयाँ हिनामिना गरी बेपत्ता रहेका उनलाई प्रहरीले पक्राउ गर्न रेड कर्नर नोटिस जारी गरेको हो । सहकारीको रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपाली, उनकी श्रीमतिसहित आठजनालाई प्रतिवादी बनाइएको छ । बैसाखदेखि फरार नेपाली र उनकी श्रीमति छेला नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको हो । उनीहरुविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए ।
प्रतिवादी रहेका सहकारीका अन्य पदाधिकारी भने पक्राउ परिसकेका छन् । सहकारीसँग सम्बन्ध रहेका चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।
त्यस्तै प्रहरीले सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई समेत पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पीडितको निवेदनका आधारमा सुनारलाई ललितपुर महानगरपालिका–३ धोबिघाटबाट पक्राउ गरिएको हो ।