काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रका दमकल जान नसक्ने साँघुरा गल्लीमा आगलागी हुँदा तुरुन्तै पानी प्राप्त गर्ने प्रणाली सुख्खा पाइप लाइन अर्थात ‘ड्राइराइजर’ जडान गरिएको छ।
ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा पानी जडानका लागि इनलेट भल्व राखिएको हुन्छ। यदि साँघुरा गल्लीमा आगलागीका घटना भए यी पाइपलाइनमा दमकलको पाइप जोडी तुरुन्तै सम्बन्धित ठाउँमा पानी पुर्याएर आगलागी निभाउन सकिने महानगरले जनाएको छ। यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिन्छ।
दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनकाबीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ। यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिने महानगरले जनाएको छ ।
दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा साततलेसम्म अग्लो भवनमासमेत आगो निभाउन सकिने महानगरले जनाएको छ।