चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिकाको उत्तरी भेग चुरेफेदीमा रहेको गैँडाटारमा रहेको सिँचाइको ड्याम भत्किएको छ । सोमबार आएको बाढीले ड्याम बगाएपछि गैँडाटारबासी चिन्तित बनेका छ्न् ।
चन्द्रपुर ३ गैँडाटारका स्थानीयले ड्याम बगाएपछि असारमा धान बाली लगाउन समस्या हुने भन्दै चिन्ता व्यक्त गरेका छन । जीर्ण बन्दै गएको सो ड्यामको समयमै मर्मतसम्भार नहुँदा ड्याम भत्किएको स्थानीय जीवन कटुवालले बताए । ‘हरेक वर्ष सिँचाइको आधार बनेको ड्याम भत्किदा अब उत्पादनमा ह्रास आउने विषयले चिन्तित तुल्याएको छ ।’ कटुवालले सिधाकुरासँग भने ।
आर्थिक वर्ष २०६६/६७ मा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय बिरगञ्जबाट २ करोड ६६ लाखको लगानीमा निर्माण गरिएको उक्त सिँचाइ ड्याम भत्किएपछि तत्काल सम्बन्धित निकायले वैकल्पिक सिँचाइको व्यवस्थापन गर्नुपर्ने किसानको माग छ । असारे धानको बीउ राख्ने बेलामा नै सिँचाइको ड्याम भत्किएका कारण धानको बीउ नै राख्न नसक्ने अवस्था सिर्जना भएको स्थानीय कृषक उमेश तिमल्सिनाले बताए । ‘हामीले चादी नदीको पानीलाई सिँचाइको लागि ड्याम निर्माण गरि सिँचाइ गर्दै आईरहेका थियौँ । जसले हामीलाई सहज थियो तर अहिले भत्कियो’, उनले थपे, ‘अब कसरी सिँचाइको व्यवस्थापन हुने हो ? ४ बाली अन्न उत्पादन हुने ठाउँमा अब कसरी बाली लाउने हो ? सम्बन्धित निकायले यथाशीघ्र वैकल्पिक ब्यवस्था गर्नुपर्छ ।’
ड्याम भत्किएपछि गैंडाटार क्षेत्रमा कृषि उत्पादनमा कमी आउन सक्ने भएकाले यथाशीघ्र सिँचाइको वैकल्पिक उपाय निकाल्नुपर्ने स्थानीय नेताको भनाई छ । ‘सिँचाइको समस्या समाधान नभए आन्दोलनमा उत्रनु बाहेक अर्को विकल्प रहने छैन ।’, नेकपा एमालेका नगर अध्यक्ष शिव आचार्यले भने ।