काठमाडौँ । काठमाडौँ उपत्यकाको खाद्यान्नको व्यापारिक भण्डार मानिने कुलेश्वर क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । मङ्गलबार रातिबाट सुरु भएको भीषण वर्षका कारण बाग्मती नदीमा आएको बाढीले कालीमाटी र कुलेश्वर क्षेत्र बाढीले डुबेको हो ।
विष्णुमती, पुरानो कालीमाटी, बाग्मती नदीको बाढी टेकु देखि बल्खुसम्म रहेका विभिन्न खाद्यान्नका गोदाममा पसेको व्यवसायीहरूले बताएका छन् । कुलेश्वरका व्यापारी विकास लुनियाकाअनुसार त्यस क्षेत्रका सबैजसो खाद्यान्नका भण्डार बाढीले डुबेको छ । नदीको बाढी खाद्यान्नका गोदाममा झण्डै ३ फिटसम्म जमेको उनले बताए ।
‘खाद्यान्नका गोदाममा बाढीले वितण्डा मच्चायो,’ लुनियाले भने ‘दाल, चामल, गेडागुडी, पिठो, चिनी लगायतका खाद्यान्नमा करोडौँको क्षति भएको छ ।’ त्यस क्षेत्रका खाद्यान्न होलसेल व्यवसायीहरूको संस्था नेपाल खाद्य किराना व्यवसायी सङ्घका अनुसार खाद्यान्नका सबै होलसेल डुबेको छ ।
सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठकाअनुसार सबै होलसेल डुबेका कारण व्यवसायीहरू मर्माहत भएका छन् । ‘बाढीले होलसेल सखाप बनाएको छ । करोडौँको क्षति भएको छ ।’ उनकाअनुसार व्यवसायीहरू क्षतिको विवरण सङ्कलनमा जुटिरहेका छन् ।
(बागमती नदीको बाढी कुलेश्वरको खाद्यान्न बजारमा पस्यो । ललितपुरले पारिपट्टि ठूलो पर्खाल लगाएर खोलो छेकियो त्यसको असर कुलेश्वरमा प¥यो । दाल, चामल, तेल लगायतका खाद्यान्नका धेरै होलसेलहरु डुबेका छन् । लाखौ करोडौँको क्षति भएको छ । हामी अहिले क्षतिको मूल्याङ्कन गरिरहेका छौँ ।
काठमाडौँ भरी आन्तरिक खाद्यान्नको वितरण हुने ठाउँमा पसेको बाढीले पक्कै पनि केही असर पर्छ । तर, यसैका कारण मूल्य बढ्ने खाद्यान्न नपाउने भन्ने हुन्न । बाढीको बहाव रोक्नका लागि पर्खाल लगाउन हामीले वडालाई भनेका थियौँ ।
तर, यो क्षेत्र उपत्यका विकास प्राधिकरण अन्र्तगत पर्ने रहेकाले वडाले काम गर्न सकेन । अहिले पसेको बाढी नै अन्तिम होस् अब यो क्षेत्रमा थप बाढी नआउने व्यवस्थाका लागि सरकारसँग माग गर्दछु । ) -देवेन्द्रभक्त श्रेष्ठसँग गरिएकाे कुराकनी
(तस्विरहरु)