क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइले बुधबार निरन्तरता पाउने भएको छ ।
यसअघि आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । त्यससँगै २ दिन निरन्तर सार्वजनिक बिदा परेकाले उक्त सुुनुवाइले बुधबार निरन्तरता पाउने भएको हो ।
सुनुवाइको पहिलो दिन पीडितका तर्फबाट सरकारी वकिलले बहस गर्दै पीडित नाबालिग रहेको जिकिर गर्दै उनीहरुले सन्दीपलाई अधिकतम सजाय हुनुपर्ने तर्क गरेका छन्।
बुधबार पीडितका तर्फबाट बहस पूरा भएपछि सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने छन्।
सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ ।
सन्दीपविरुद्ध एक किशोरीलाई बलात्कार गरेको अभियोग छ। ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।