काठमाडौँ । खुम्बु क्षेत्रमा शुक्रबार आएको आकस्मिक बाढी रोकिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका अन्तर्गतको थामे गाउँमा शुक्रबार पसेको थामे जलाधार क्षेत्रको बाढी अहिले रोकिएको गाउँपालिकाले जनाएको छ ।
घटनास्थलमा रहेका थामे आधारभुत विद्यालयका प्रधानाध्यापक होमप्रसाद भट्टराईलाई उदृत गर्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले यस्तो जानकारी दिएका हुन् ।
‘बाढीको बहाव पुरानै खोलाको अवस्थामा फर्किएको प्रधानाध्यापकले बताउनु भएको छ,’ उनले भने, ‘अहिले मौसम पनि खुलेको छ । घटनास्थलमा राहत र बाढी अनुसन्धानका लागि हामी त्यहाँ पुग्दैछौँ ।’
काठमाडौँबाट विपद् व्यवस्थापन प्राधिकरणको विशेषज्ञसहितको टोली पनि थामे आउँदै गरेको भुसालले जानकारी दिए । बाढी के कारणले आएको हो र अझै थप जोखिम के कति छ भनेर अनुसन्धान गर्न विज्ञ टोली आउन लागेको उनले बताए । उनका अनुसार खुम्बु र थामे क्षेत्रमा अहिले मौसम राम्रो छ ।