काठमाडौँ । महाशिवरात्रि तथा २६१ औँ सेना दिवसको अवसरमा नेपाली सेनाले बिशेष समारोहको आयोजना गरेको छ ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएत उच्च पदस्थहरुको सहभागिता रहेको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे ।
समारोहमा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८०’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो ।
सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गरिएको थियो भने नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती गरिएको थियो भने नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८० वार्षिक पत्रिका विमोचन गरे । उनले ‘फ्री फल जम्प’ लगाएत विभिन्न प्रतिष्पर्धामा प्रथम, दोश्रो हुनेलाई पुरस्कार प्रदान गरे । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।