काठमाडौँ । युक्रेन–रुस युद्धमा चार नेपालीले ज्यान गुमाएका छन् । रुसी सेनामा भर्ती भएका उनिहरु युक्रेनसँगको लडाइँमा मारिएको मस्कोस्थित नेपाली दुतावासले जनाएको छ । दुतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् ।
दुतावासका अनुसार रुसी सेनाकारुपमा युक्रेनमा पुगेका रोक्का, मोक्तान र कार्कीको कात्तिक २९ गते मारिएका हुन् । थपलिया भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए । थपलिया एक वर्षअघि रुसी सेनामा भर्ती भई गत जेठमा युद्धका लागि युक्रेन पुगेका थिए । त्यसको एक महिनामै उनि मारिए । रुसले थपलियाको शव भने नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो ।
अन्य तीन जनाको शब पनि नेपाल ल्याउन समस्या हुने देखिएको छ । उनिहरु बाहेक रुस युक्रेन युद्धमा मारिने नेपालीहरुको संख्या बढ्न सक्ने दुतावासका अधिकारीहरु बताउँछन् । सिधाकुराको सम्पर्कमा आएका दुतावासका एक अधिकारले भने, धेरै नेपाली भ्रमण भिषामा आएर रुसी सैनिकमा भर्ती भएका छन्, त्यसकोा विवरण दुतावाससँग छैन, आधिकारीकरुपमा ४ जनाको विवराण प्राप्त भएपनि थप नेपालीको समेत ज्यान गएका सूचना दुतावासलाई प्राप्त भएको छ ।
२०७८ फागुन १२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युद्ध अझै पनि जारी छ । रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ । उसले ६ महिनाअघि मात्रै सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।