रौतहट । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपालकाे राजनीतिक अस्थिरताको जड प्रचण्ड रहेकाे दाबी गरेकी छिन् । बिहिबार रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले साे अभिव्यक्ति दिएकी हुन् ।
पार्टीमा बाेल्दै उनले नेपाली कांग्रेस पार्टीले आउने निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगर्ने बताइन् ।उनले काङ्ग्रेसको रुख छापलाई मात्र कार्यकर्ता र जनताले बुझेको बताइन् । त्यस्तै प्रतिक्रियाबादीहरुको चलखेल जनताले मुल्यांकन गर्ने बताउँदै उनले वर्तमान राजनीति अस्थिरताको जड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको जिकिर गरिन । ‘माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक कांग्रेस–एमालेलाई धोका दिएका छन् । उनी अस्थिरताका जड हुन् ।’, केन्द्रीय सदस्य संग्रौलाले भनिन् ।
सुन तस्करी र सहकारी पीडितलाई न्याय दिनुपर्ने र कारवाहीको दायरामा ल्याउनुपर्ने व्यक्तिनै संलग्न रहेको उनको आरोप छ । उनले भनिन्, ‘सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि उजुरी परेकोले उनले पदबाट राजीनामा दिएर अनुसन्धान गर्न सघाउनुपर्छ ।‘
मधेश जागरणको अभियानलाई लिएर विभिन्न जिल्लाहरुमा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिव्रता दिँदै हिँडेकी उनी काँग्रेसको संगठनलाई ग्रासरुटमा पूर्ननिर्माण र पूर्नताजगी बनाउनुपर्ने अवस्था रहेको बताइन् ।
कार्यक्रममा बोल्दै उनले जनताको मुद्दालाई सम्बोधन गर्न कांग्रेस संसद र सडकबाट एकसाथ काम गर्ने बताइन् । त्यस्तै कांग्रेसले कसैलाई धोका नदिएको उनको तर्क छ ।