काठमाडाैँ । १५ वर्षअघि एक युवकको हत्या आरोपमा नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या गरेको अभियोगमा गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट उनीसहित छ जनाविरूद्ध पुर्जी जारी भएको हो ।
सुर्खेतको जनमाविमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काकाले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएपनि मृतकका बाबुले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए । उनले टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध जाहेरी दिएका थिए ।
काका र बाबुको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । अदालतले पक्राउ गर्न अनुमति दिएसँगै प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ ।