काठमाडाैँ । भक्तपुरको गठ्ठाघरमा दुर्घटनामा परी मृत्यु भएका स्कुटर चालकको पहिचान खुलेको छैन । भक्तपुर प्रहरी परिसरका प्रवक्ता राजन कार्कीका अनुसार मृतककाे पहिचान खुल्न बाँकी नै छ ।
'घटना भएकाे केही समयमा नै एक युवक आएर मृतक आफ्नी बहिनी भएकाे दाबी गरेका थिए ।', प्रवक्ता कार्की भन्छन्, 'उनले मृतक महिला आफ्नी बहिनी भनेका थिए । साेही हल्ला फैलियाे ।'
उनका अनुसार मृतककाे पहिचानबारे थप खाेजी भइरहेकाे छ । मृतककाे शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएकाे छ ।
आज दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको प्लेजर स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकले स्कुटर चालकलाई ठक्कर दिएर करिब २० मिटर धसार्दै लगेको थियो ।
ट्राफिक प्रहरीको चेकिङका कारण दुर्घटना भएको भन्दै आक्रोसित भिडले सडक अवरुद्ध गरेका थिए । सो क्रममा उनीहरुले प्रहरीमाथि आक्रमण प्रयास गरेपछि ट्राफिक प्रहरीको भागाभाग चलेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।
*यसअघि प्रकाशित समाचारमा घटनास्थलमा भएका प्रहरीले दिएकाे सूचनामा अन्यथा परेकाेमा क्षमायाचनासहित सच्याइएकाे छ । - सम्पादक