काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको दिर्घकालिन रणनीति तय गर्न १०० दिनको खाका प्रस्ताव गरेका छन् । समीक्षा यात्राको प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश नभएपछि उनले सञ्चार माध्यममा सार्वजनिक गरेका छन् ।
लिखित रुपमा गरिएको प्रस्तावमा उनले अबको १०० दिनमा 'रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं' भन्दै खाका समेत पेश गरेका छन् । त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यहरु २ हप्ता गुप्तबास बसेर भावी रणनीति तय गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रस्तावमा भनिएको छ, 'अबको २ हप्ता तयारी गरौँ ,त्यसपछि सभापति र उपसभापति बाहेकका केन्द्रीय समिति सदस्यहरू २ हप्ता गुप्तबास जाऔँ' । गुप्तबासका क्रममा आफूले महामन्त्रीको राय राख्ने तर मत नराख्ने भन्दै ढकालले पार्टीको विधान,संगठनात्मक ढाँचा, अबको कार्यदिशा र महाधिवेशनको बाटो लगायतका विषयमा निर्णय गर्ने प्रस्ताव गरेका छन् ।
तर उनकाे यो प्रस्ताव केन्द्रीय समिति बैठकमा भने पेश नभएको ढकालले जनाएका छन् ।