उदयपुर । कटारी नगरपालिका–२ खोक्सामा १५ दिनसम्म चल्ने त्रिवेणी मेला आजबाट शुरु भएको छ। वर्षेनी माघ १ गतेबाट सुरु भएर १५ दिनसम्म लाग्ने मेला यो वर्ष २० गते सम्म लाग्ने कटारी नगरपालिकाले जनाएको छ।
कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने मैनी मेला अहिले त्रिवेणी मेलाको रुपमा परिचित छ। तीन नदीको संगमस्थलमा मकर स्नान गरी भाकल गरे शरीरमा रहेको चर्मरोग निको हुने, पशुपंक्षी बलिदिई पूजा आराधना गर्नाले चिताएको कुरा पूरा हुने जनविश्वास रहेको कटारी नगरपालिका २ का वडा अध्यक्ष प्रेम बहादुर थापाले उल्लेख गरे।
कोशी प्रदेशकै महत्वपूर्ण धामका रुपमा यस धाम लाई लिइन्छ। यस मेलामा कोशी प्रदेश,मधेश प्रदेश बाग्मती प्रदेशको अलावा भारत बाट समेत तीर्थालु आउने गरेको अध्यक्ष थापाले बताए।
माघे संग्रान्त्तिमा मात्र नभएर माघ महिना भरनै देशभरिका भक्तजन त्रिवेणी मेला आउने गरेको कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।
सडक सञ्जाल जोडिनुपूर्व पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ्ग,सोलुखुम्वुका स्थानियबासीले यो मेलाबाट आबश्यक लत्ता,कपडा,नुन,तेल, मरमसला खरिद गर्नुका साथै पहाडका भोटे कुकुर ,कृषि उत्पादन मेलाको आकर्षण हुने गरेको कटारी नगरपालिका उप प्रमुख गीता खड्काको भनाई छ।
मेला उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिकाको सिमाना लाग्दै आएको छ। मैनि मेलाले परिचित यस मेला नेपालकै पुरानो र लामो समय सम्म लाग्ने मेला मध्यमा त्रिवेणी मेला पर्ने गरेको नगर प्रमुख श्रेष्ठले बताए। यस्तै,मेलामा सिन्धुलीको जुनार, ओखलढुङ्गाको राढी पाखी र स्थानीय उत्पादनको किनबेच हुने गर्दछ।