काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको दोस्रो औषधि पनि उत्पादन र बिक्रीमा रोक लगाएको छ ।
मंगलबार विभागले एक विज्ञप्ति जारी गर्दै 'ओनो सिरप' नामक औषधि बिक्रीमा रोक लगाएको हो । विभागकाअनुसार उक्त औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको हो । ‘नियमित बजार अनुगमनका क्रममा ल्याइएको ONSO123 ब्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालाम परीक्षण गर्दा मापदण्ड अनुसार नभएको पाइयो,’ विभागले सूचनामा भनेको छ । विभागकाअनुसार उक्त औषधि वाकवाकी र उल्टीको उपचारका लागि प्रयोग गरिन्छ ।
विभागले गत साता पनि लोमसले उत्पादन गरेको सेटोफेन (प्यारासिटामोल) ट्यावलेटको CT–2023 ब्याचको औषधि पनि बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो । विभागले ओनो सिरपको ‘लिकेज’को सम्वन्धमा जाँचबुझ प्रतिवेदन सहित उद्योगको मुख्य प्राविधिकलाई १५ दिन भित्र विभागमा उपस्थित हुन निर्देशन पनि दिएको छ ।