लुम्बिनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरूयोजनामा दबाब यात्रा गरेको छ ।
रास्वपाका पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा बिहान १० बजे लुम्बिनीको १२ नम्बर गेटमा दबाब यात्रा गरेको रास्वपाले जनाएको छ । उक्त दबाब यात्राको नेतृत्व सांसद लक्ष्मी तिवारीले गरेकी छिन् ।
दबाब यात्रामा पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्य इश्रा मुल्ला मिया, प्रमिला कुलुजू, क्रान्तिशिखा धिताल लगायत सहभागी थिए । त्यस्तै विभागका तर्फबाट गणेश पौडेल, रामहरि लामिछाने, आशिका श्रेष्ठ पनि सहभागी भएका रास्वपाले जनाएको छ ।
लुम्बिनी गुरूयोजना सन् १९७८देखि सुरू भएको योजना हो । ४६ वर्षअघि सुरू भएको उक्त अवधारणा हालसम्म पपिन सम्पन्न नभएको भन्दै रास्वपाले दबाब यात्रा गरेको हो ।
रास्वपाले सातै प्रदेशका ३/३ वटा अलपत्र आयोजनामा दबाब यात्रा गर्ने घोषणा गरेको छ । उक्त दबाब यात्राको उद्धाटन मेलम्ची खानेपानी आयोजनाबाट भएको थियो । पार्टीका सबैजसो शिर्ष नेताहरुको उपस्थितिमा गत माघ २१ गते उक्त दबाब यात्राको सुभारम्भ गरिएको थियो ।
यसअघि गत पुस ९, १० र ११ गते नारायणगढ—बुटवल सडकखण्डमा रास्वपाले दबाब यात्रा गरेको थियो।