काठमाडाैँ : इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका अभियुक्त कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनको समयमा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप लागेका उनको मुद्दामा आज जिल्ला अदालत रौतहटमा पेसी तोकिएको हो ।
उक्त मुद्दामा गत कात्तिकमा अदालतले सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । सरकारी वकिल र आलमका वकिलका तर्फबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।
२०७६ कात्तिक १८ मा उनीविरुद्ध ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा रौतहट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।