काठमाडाैँ । हिन्दूहरूको दोश्रो महान चाड तिहारको आगमनसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ । बिहानको शीतमा मखमली फूल टिप्न किसानहरू फूलबारीमा व्यस्त रहने गरेका छन् । मखमली फूलका लागि भक्तपुरको ताथली र गुन्डु प्रसिद्ध छन् ।
यतिबेला सो क्षेत्रका अधिकांशका बारीमा ढकमक्क मखमली फुलेका छन् । कतिपयले सयपत्री फूलको खेती गरेका छन् । मखमली फूलको माला बनाएर बेच्ने गरिएको भए पनि सयपत्री फूल मालाका साथै गुच्छा र खुला रूपमा पनि बेच्ने गरिन्छ ।
केही वर्षदेखि यस भेगका कृषकको मुख्य आयस्रोत मखमली फूल खेती बनेको छ । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि नेपाल मखमली, गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ ।