काठमाडाैँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले भनेजस्तो आफू कुनै पनि सहकारी प्रकरणमा प्रतिवादी नभएका कारण आफूले राजीनामा दिनुनपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा सभामुखसँगको छलफलबाट बाहिरिने क्रममा बोल्दै उनले आफूलाई महान्यायाधिवक्ताको कार्यालयले काँहीकतै प्रतिवादी नभएको बताएका कारण आफूले राजीनामा दिनुनपर्ने बताएका हुन् ।
अघिल्लो संसद अधिवेशनमा नेपाली कांग्रेसले निरन्तर आफ्नो राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको र आगामी अधिवेशनमा समेत आफूमाथि छानबिन गर्न संसदीय समिति नबने संसद चल्न नदिने चेतावनी दिँदै आएपछि उनले आफू कहाँ प्रतिवादी छु र राजीनामा दिनुपर्ने भन्दै प्रतिप्रश्न गरेका हुन् । ‘ममाथि आरोप लाग्यो, पत्रपत्रिकामा सुन्छु । सदनमा सांंसदहरुले उठाएको सुन्छु । मान्छेहरुले काहीँकाहीँ ज्ञापनपत्र बुझाएको भन्नेपनि सुन्छु । आरोप लागेपछि म कहाँ प्रतिवादी छु, मेरो कहाँ संलग्नता छ, ममाथि कहाँ मुद्दा चलेको छ भनेर मैले कतै त सोध्नपर्यो । त्यहि भएर महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएर सोधेँ । तर आफूमाथि काहीँ मुद्दा चलेको, प्रतिवादी भएको पाइनँँ । अब के आधारले राजीनामा दिनुपर्ने हो ?’, लामिछानेले भने ।
त्यस्तै उनले आरोप लगाउँदैमा राजीनामा दिनुपर्ने परिपाटी बसाउने हो भने नेपाली कांग्रेसबाट राजीनामा दिन सुरु गर्नुपर्ने र त्यसका लागि आफूसमेत तयार भएको बताए । ‘हामीले कस्तो नजीर बसाउने ? हाम्रो संसदीय अभ्यास कस्तो हो भन्ने कुरा हामीले स्पष्ट पार्नुपर्ने हुन्छ । विषय उठेको, कहाँ उठेको, कसले उठाएको भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । कहीँ उजुरी पर्नेबित्तिकै र आरोप लाग्नेबित्तिकै संसदीय छानबिन समिति बनाउन सुरु गर्ने र राजीनामा दिने हो भने सबैजना तयार रहुँ भनेर भनेकै हो । त्यसमा त पहिला तयार हुनुपर्यो नि अनि बल्ल पो छानबिन समिति बनाउने भन्ने कुरा हुन्छ ।’, पत्रकारसँग बोल्दै लामिछानेले भने ।
त्यस्तै गृहमन्त्री लामिछानेले सहकारीका समस्या समाधान गर्न आफू र सरकार संवेदनशील रहेको बताएका छन् । ‘नीतिगत र संरचनागत रूपमा फास्ट ट्रयाकमा व्यवस्था गर्न लागिरहेका छौँ। संसदमा विधेयकमा आउँछ। बचतकर्ताको पैसा फिर्ता हाम्रो प्राथमिकता हो। बरु प्रतिपक्षीले यसमा साथ दिनुपर्छ।’, उनले भने ।