काठमाडौँ । युरोपियन भूमि बेल्जियममा तिजको रौनक बढ्न थालेको छ । बेल्जियममा रहेका नेपालीहरुले हरेक वर्ष तिजअघि दर खाने कार्यक्रम आयोजना गर्न थालेपछि विदेशी भू्मिमा नेपाली पवै फेलिएको हो । केही दिनअघि देखि बेल्जियमको बिभिन्न सहरहरुमा तिज विशेष कार्यक्रमको आयोजन गर्न सुरु भएको छ । गत शनिबार एभरेस्ट नेपाली समाजले ब्रुज सहरमा तिज विशेष कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा ब्रुज शहरका मेयरका उम्मेद्वार पाब्लो एनिस को पनि उपस्थिति रहेको थियो । उनले आफू मेयरमा जितेको खण्डमा नेपाली समाज को लागि आवश्यक रहेको ठुलो हलको लागि पहल गर्ने र ब्रुज शहरको तर्फबाट प्रायोजनको लागि पहल गर्ने बताए । संस्थाका अनुसार ब्रसेल्समा पनि तिज विशेष कार्यक्रम आयोजना हुँदैछ । शिक्षा, रोजगारी तथा भविष्य निर्माणको लागि विदेश पुगेका नेपाली चेलीहरु तिजकै लागि भनेर नेपाल जाने अवसर कमैलाई मात्र जुर्छ । कर्मथलोमै आयोजना गरिएको यस्ता कार्यक्रमले नेपाली महिलाहरुको तिज मनाउने धित मार्ने गरेको आयोजक बताउँछन् ।
बेल्जियममा रहेका विभिन्न संघसंस्थाहरुले चेलिबेटीहरुको लागि तिज विशेष कार्यक्रम गरेर दर खुवाउने गरेका छन् । प्रवाशमा यसरि तिज मनाउदा वर्ष भरिको दुख साटसाट गर्ने मौका मिल्ने सहभागी बताउँछन् । यसपाली बेल्जियममा रहेका महिलाकै संघ संस्थाहरुले तिज कार्यक्रम भिन्न तरिकाले मनाउन गइरहेका छन् । उनिहरुले धेरै तडकभडक नगरी कार्यक्रमबाट संकलित रकम नेपालमा समाजसेवामा लगाउने तयारी गरेका छन् ।
बेल्जियममा हुने धेरैजसो कार्यक्रममा दाजुभाइहरुले दर खुवाउने गरेका छन् । यस्ता कार्यक्रमले चेलीहरुलाई थोरै भएपनि माइतीको नियास्रो मेटाउन सहयोग गरेको सहभागीहरु बताउँछन् । प्रवाशमा गरिने यस्ता चाडपर्वहरुले वर्ष दिनमा एकपटक भएपनि चेलीहरुलाई खुसी राख्ने काम गरेको छ । साथै नेपाली पर्वहरु युरोपमा मनाएर यसको संरक्षण र यहाँ रहेका साना नेपाली बालबालिकाका लागि संस्कृतिको परिचय दिन यस्ता कार्यक्रमले टेवा पुर्याएको छ ।