नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । खाँणको सुनुवाई न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा भएको थियो ।
कोइरालाको इजलासले खाडलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै न्यायाधीश जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गरेको हो ।
सोही प्रकरणमा यसअघि मंसिर १५ गते उच्च अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।
तर त्यतिबेला खाँणलाई थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा दुई न्यायाधीशको राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय दिएका थिए भने न्यायाधीश प्रकाश खरेलले उनी निर्दोष हुन् भन्न सकिने अवस्था नरहेकाले धरौटीमा छोड्न नहुने राय दिएका थिए । दुई न्यायाधीशहरुको फरक फरक राय आएपछि खाँणको पुन सुनुवाई भएको थियो ।