काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल भत्काउन पत्र लेखेको छ ।
महानगरपालिकाको शहरी व्यवस्थापन विभाग प्रमुख अर्चना शाक्यले नारायहिटी दरबार संग्राहलय र नेपाल सरकार ट्रष्टको कार्यालयलाई एक पत्र लेख्दै नारायणहिटी दरबारको पर्खाल मापदण्डविपरित भएका कारण उक्त पर्खात भत्काउन ताकेता गर्दै पत्र लेखेकी हुन् ।
यसअघि महानगरपालिकाले पुष १३ मा नेपाल ट्रष्टलाई मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्राचार गरेको थियो । तर पर्खाल भत्काउन अटेर गरेपछि महानगरले पुन अर्को पत्र लेखेको हो ।
‘काठमाडौँ महानगरपालिका वडा न॑ १ स्थित श्री नारायणहिटी दरवार संग्रहालयको सीमा पर्खाल, बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मीटर अग्लो पर्खाल र सो माधि ०.६ मीटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुदाँ निर्मित संरचनामा सोही बमोजिम सुधार गर्नुहुन भनी यस विभागको च.नं. ६१० मिति २०८०/०९/१३ को पत्रद्धारा अनुरोध गरिएकोमा सो कार्य गरेको नदेखिएको हुदाँ पुनः ताकेता पत्र लेख्ने कार्य भएको छ । पत्रमा उल्लेख भए बमोजिम कार्य सम्पन्न गरी यस कार्यालयलाई जानकारी गराउनु हुन निर्देशानुसार अनुरोध छ।’, पत्रमा भनिएको छ ।