काठमाडौँ । शिवपुरी गाउँपालिका-७ का इन्द्रमान तामाङ बुधबार बिहान बाख्रा चराउन सूर्यचौरको डाँडामा थिए । अघिल्लो दिनरातभरकाे भिषण वर्षा केही मथ्थर भएर बिहान घाम पनि लागेको थियो ।
तर, उच्च पहाडी भेग भएका कारण शिवपुरीको डाँडामा सधैँ कुहिरोले ढाक्छ । बाक्लो कुहिरो लागेको डाँडाको छेउैमा इन्द्रमान सुसेलो हाल्दै गोठालो गरिरहेका थिए । तर, एक्कासी दिउँसो २ बजे आसपास उनको नजिकैबाट हेलिकप्टर हुत्तिएर कुहिरोले ढाकेको डाँडामा पस्यो ।
‘आकस्मात हेलिकप्टर अनियन्त्रित भएर मोडिएको केही सेकेन्डै ठूलो पड्किएको आवाज आयो । दनदनी आगो बल्न थाल्यो,’ इन्द्रमानले सिधाकुरासँग भने, ‘मेरो मुटु काम्यो । हामी ८/९ जना गोठालेहरु दोडिएर आयौँ तर केही गर्न सकेनौँ ।’ सूर्य चौरका अर्का स्थानीय सान्तबहादुर तामाङ पनि सूर्यचौरमा थिए । उनलाई हेलिकप्टर जलेको भन्दै दौडन श्रीमतिले भनिन् । उनी हेलिकप्टर खसेको ठाउँतर्फ दौडिए । ‘घटनास्थल बलिरहेको थियो । मानिसहरु उछिट्टीएका थिए’ सान्तबहादुरले भने ।
अर्का एक स्थानीय गोठालेका अनुसार हेलिकप्टरको पङ्खा एक्कासी भिरको भित्तामा धसारिएको थियो र उछिट्टीएर काँडाको घारीमा खसेर दनदनी बलिरहेको थियो ।
घटनास्थलमा पुगेका अर्का एक स्थानीयले दनदनी बलेको हेलिकप्टरमा यात्रु छटपटाउँदै गरेको देखेर पनि बचाउन नसकेकोमा दुःख माने । ‘जल्दै गरेका मानिसहरु छटपटाई रहेका थिए । बचाउन सकिन्छ की भनेर माटो कोतरेर हाल्यौँ तर पर्यप्त भएन,’ ति स्थानीयले भने ।
शिवपुरी-७ का वडाअध्यक्ष वीरबहादुर तामाङका अनुसार दुर्घटनास्थल पुग्दा पाइलट र यात्रुहरु कसैलाई पनि बचाउन सक्ने अवस्था थिएन । हेलिकप्टरमा भएको सबै इन्धन बलुन्जेल आगो लागिरह्यो ।
घटनास्थलमा उद्धारमा नेतृत्व गरेको सशस्त्र प्रहरी बल विशेष सुरक्षा इकाइका एसपी समिक कुमार मर्हजनकाअनुसार राउण्ड गरेर घुम्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । आफूहरु उद्धाकारका लागि घटनास्थल आइपुग्दा कसैलाई पनि जिवितै उद्धार गर्ने अवस्थामा नरहेको एसपी मर्हजनले बताए । तत्काल उपलब्ध उपकरणले आगो निभाउन र शव संकलन गर्न मात्रै सकेको उनको भनाई छ । ‘राउड गर्ने क्रममा खसेको भन्ने देखिन्छ । हामी आइपुग्दा जिवितै उद्धारको सम्भावना टरिसकेको थियो’ एसपी मर्हजनले सिधाकुरासँग भने ।
बुधबार बिहान नुवाकोटको सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाइलट अरुण मल्लसहित ४ जना चिनियाँ नागरिकले ज्यान गुमाएका थिए । चिनियाँ पर्यटकलाई बोकेर क्याप्टेन अरुण मल्ल दिउँसो १ः५४ मा भक्तपुरकाे नलिनचाेकबाट उडेका थिए । उडान भरेको ३ मिनेटमै हेलिकप्टरसँगको सम्पर्क टुटेको थियो । उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटनाग्रस्त अवस्थामा झण्डै एक घण्टा पछि फेला परेको थियो । दिउँसो ३ बजे मात्रै हेलिकप्टरमा सवार पाइलटसहित ५ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डिएसपी तिलक भारतीले पुष्टी गरेका थिए ।