राष्ट्रपति रामचन्द्र पौडेल तत्कालका लागि युरोप भ्रमणमा नजाने भएका छन् ।
पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते त्यसतर्फ जाने तयारीमा रहेका पौडेलले जाजरकोटमा भूकम्प आएर ठूलो संख्यामा धनजनको क्षति भएपछि तत्कालका लागि भ्रमण कार्यक्रम स्थगित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट उनको भ्रमण स्विकृतसमेत भएपनि भूकम्पले गर्दा भ्रमण रोकिएको हो । उनी पेरिसमा हुने कार्यक्रममा भाग लिएर संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्ने कार्यक्रम रहेको थियो ।
जाजरकोटमा गत शुक्रबार ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी १५६ जनाको ज्यान गएको छ भने ३ सय ३८ जना घाइते भएका छन् ।