काठमाडाैँ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको दबाब पैदल यात्राले ५५ किलोमिटर पार गरेको छ ।
सभापति रवि लामिछाने सहितको टोलीले पहिलोदिन गैँडाकोटबाट कावासोतीको डण्डा बजार पुगेको थियो । दोस्रो दिन डण्डा बजारबाट अघि बढेको टोली अहिले चोरमारा पुगेको छ । विहिबारसम्म ११४ किलोमिटर पार गर्दै बुटवल पुग्ने रास्वपाको योजना छ ।
पटक पटक म्याद थप गर्ने तर निर्माणलाई गति नदिने देखिएकाले सडकबाटै दबाब दिन पैदल यात्रा चलाएको सभापति लामिछानले बताए ।
दबाब यात्रामा सभापति लामिछाने सहित रास्वपाका सांसद, नेता कार्यकर्ता र सर्वसाधारणको सहभागि छन् ।
२४ माघ ०७५ मा एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको बुटवल–नारायणगढ सडक विस्तारको प्रगति अहिलेसम्म करिब ४३ प्रतिशतमात्रै भएको छ । २०७९ साउनमै निर्माण सम्पन्न हुनु पर्ने सडक दुई पटक म्याद थप हुँदा पनि निर्माण भएको छैन ।
निर्माणका लागि भत्काइएको सडकको धुलो र खाल्डाखुल्डीले राजमार्गमा यात्रा गर्नेहरुले सास्ती भोग्दै आएका छन् भने राजमार्ग छेउका बस्ती धुलाम्मे छन् ।
अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ । हाल दुई लेन रहेको नारायणगढ–बुटवल सडकखण्डलाई विस्तार गर्दै कतै चार लेन, कतै ६ र तीन लेनको ‘ग्रिनरी’सहित बनाउन लागिएको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । यो सडक निर्माणमा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी छ । यो सडकले रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई छुन्छ ।