काठमाडौँ । भ्रष्टाचार मुद्दा लागेका गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू विरूद्ध गोदावरीको ढुंगा गिटी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी १ अर्ब ४ करोड ८७ लाख ४५ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै दुई महिना अघि विषेश अदालतमा मद्दा दायर गरेको थियो ।
मुद्दाको बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश कानुनले तोकेभन्दा कम राजस्व लिने गरी नगरपालिकाले कानुन बनाएको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले मेयर महर्जन सहित उपमेयर मुना अधिकारी, प्रशासकीय अधिकृत विश्वराज मरांसेनी, यमलाल बेल्वासे, मदन केसी, सप्तम निर्माण कम्पनी प्रालि, मधुसुदन डोटेल, निराकर ढुंगा उद्योग प्रालि, केदारनाथ तिमल्सिना, मच्छिन्द्रनाथ मल्टिपर्पोज प्रालि, शशिराज शाही, सजिलो ढुंगा उद्योग प्रालि, वीरेन्द्र महर्जन र वीरेन्द्र महर्जन ढुंगा उद्योग प्रालिलाई सफाइ दिएको छ ।
नगरपालिकाले कानुन अनुसारको निकासी शुल्क लिनु भ्रष्टाचार निवारण ऐनको दफा ७ ख को कसुर नहुने विशेषको फैसलामा उल्लेख छ ।