काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई तीन सय शैय्याको बनाउने प्रक्रिया अघि बढेको छ ।अस्पतालमा तीन सय शैय्या थप गर्नेसम्बन्धी स्वास्थ्यमन्त्री प्रदीप पौडेलको घोषणाअनुरुप प्रक्रिया अघि बढेको हो ।
सहरी आवास तथा भवन निर्माण विभागबाट प्राप्त अस्पतालको तीन सय शैय्याको डीपीआर अस्पतालका प्रमुख डा. रामकुमार श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरेका छन् । डीपीआरमा साढे ५ अर्ब लागतमा निर्माण सम्पन्न हुने उल्लेख छ । मन्त्री पौडेलले डीपीआरअनुसारको निर्माण अघि बढाउन भारतीय दूतावाससमक्ष अनुरोध गरेका छन् । दूतावासका तर्फबाट सकारात्मक जवाफ प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको स्वासप्रस्वास सम्बन्धी देशकै एकमात्र विशिष्टिकृत अस्पताल हो जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र । हाल सो अस्पतालमा ५० जनरल वार्ड मात्र छन् । जसका कारण स्वासप्रस्वासका बिरामीको उपचार हुन सकेको छैन ।
डीपीआर आएसँगै अस्पताललाई तीन सय शैय्याको बन्ने र केन्द्रमा सेवा विस्तार गर्न कोशेढुंगा भएको अस्पतालका प्रमुख डा रामकुमार श्रेष्ठले बताए । मन्त्रालयको सहयोगमा अस्पताल निर्माणका लागि श्रोत जुटाउने अपेक्षा गरिएको उनले बताए ।