वीरगंज । नागरिकता किर्ते गरेको विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि कारबाही प्रकृया अगाडि नबढाएको भन्दै पर्साका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको पुत्ला दहन गरिएको छ ।
स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले वीरगंजको माईस्थानमा जम्मा भएर प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको पुत्ला दहन गरेका हुन् ।
नागरिकता किर्ते र तिनका लागी गरेको सरकारी कागजात किर्ते लगायतको विषयमा प्रहरी प्रशासनले अनुसन्धान प्रकृया अगाडी नबढाएको भन्दै पटक पटक विभिन्न विरोधका कार्यक्रम हुँदै आएको छ । मेयर राजेशमान सिंहले रुबिना श्रेष्ठलाई नागरिकता दिलाऊँदा गरेको सरकारी कागजात किर्ते लगायतको प्रमाण प्रशासनसँग हुँदाहुँदै मेयर सिंहलाई पक्राउ गरी कारबाही नगरेको भन्दै विरोध प्रदर्शन गरिएको सहभागी मध्येका नेकपा एमालेका नेता लियाकत अलिले बताए ।
नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । यस विषयमा गृह मन्त्रालयका सह सचिव पुष्कर राणाको संयोजकत्वमा छानविन समिति बनेपनि प्रतिवेदन अझैसम्म बाहिर आएको छैन् ।
यता मेयर सिंहले नयाँ नयाँ हतकण्डा अपनाइ शक्तिकेन्द्र धाउनेदेखी प्रमाण नष्ट गर्ने काम समेत गरिरहेका छन् । मेयर कार्यवाहीबाट बच्न कानुनी छिद्रमा टेकेर कहिले दोश्रो श्रीमती स्विकार्ने, कहिले अंश तथा सम्बन्ध विच्छेदको मुद्दा दिन लगाउने, कहिले पञ्जिकरण अधिकारीलाई प्रलोभनमा पारी किर्ते कागजात स्विकार्न दबाब दिने त कहिले धाकधम्की दिने काम गर्दै आएको प्रदर्शनकारीहरुको आरोप छ ।