ललितपुर । ललितपुर प्रहरीले एक घरमा छापा हानेर सुन पगाल्ने मेसिनसहित सुन र ५० लाख नगद बरामद गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगर–१४ ताल्छिखेलस्थित निर्माणाधीन घरमा शंकास्पद कारोबार भइरहेको सूचना पाएपछि छापा हानेर सो बरामद गरेको हो ।
प्रहरीले त्यहाँबाट ३ भारतीय सहित पाँच जनालाई पक्राउ समेत गरिएको छ। प्रहरीले भारत महाराष्ट्र साङ्ले घर भई ललितपुरको ताल्छिखेलमा फ्ल्याट लिएर बसेका २८ वर्षीय युवराज विभूते, २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभूते, भक्तपुर सूर्यविनायक नगरपालिका–१ विरुवा बस्ने २० वर्षीय सिद्धान्त चौलागाई र महालक्ष्मी नगरपालिका–८ बस्ने २० वर्षीय यसवन्त सुनारलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १६९.९७० ग्राम सुन, २४६.२५० ग्राम चाँदी, एउटा डिजिटल तराजु, मोबाइल, हार्ड डिस्क, सिमकार्ड, ५० लाख चार हजार ७ सय ३० रुपैयाँ र सुन पगाल्ने मेसिन बरामद गरेको हो ।
उनीहरूमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।