काठमाडाैँ । न्यायाधीश भुवन गिरीविरुद्ध श्रीमति आरती गिरीले दायर भएको रिट निवेदन बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
न्यायाधीश गिरीले विवाहपश्चात वैवाहिक बलात्कार गरेको भन्दै कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा जाहेरी दिएकी थिइन् । जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगेको थियो । पक्राउ परेका भुवनलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो। त्यस्तै काठमाडौँ जिल्ला अदालतले समेत गिरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेकी आरतीको रिटमा उच्चले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएको थियो ।
जिल्ला र उच्चमा उनले दायर गरेको रिट विचाराधिन नै रहेको अवस्थामा आरतीले श्रीमान भुवन गिरीलाई थुनामा राख्न माग गर्दै निवेदन दायर गरेकी थिइन् । त्यसयता उनी काठमाडौँका विभिन्न स्थानमा आन्दोलनरत छिन् । आफूले न्याय नपाएको भन्दै कहिले संसद भवन परिसरमा आन्दोलन गर्न पुग्छिन् त कहिले सिंहदरबार परिसरमा ।
केही दिनअघि मात्रै उनी सर्वोच्च अदालतकै परिसरमा छिरेर आफ्नै शरिरमाथि प्रज्वलशील पदार्थ खन्याइ आत्मदाहको प्रयास गरेकी थिइन् ।