काठमाडाैँ । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार पुगेका उनीविरुद्ध युवराज सफलले उजुरी दर्ता गरेका हुन् ।
सही सुराकीलाई सुराकी कमिसन नदिई पूर्व डीआइजी खरेलले कमिसन आफैँले खाएको बताउँदै आएको र सो कार्य भ्रष्टाचार भएको भन्दै सफलले उजुरी दर्ता गराएका हुन् । ‘सहि सुराकीलाई नदिईकन् नक्कली सुराकी खडा गरी सुराकी कामिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टचारमा संलग्न रमेश खरेललाई तत्काल प्रक्राउ गरी निजले राज्य कोषबाट लिएको रकम कति हो सो राज्य कोषमा दाखिला गर्न लगाई निजलाई भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न माग गर्दछु ।’, उजुरीमा भनिएको छ ।
खरेलले आफू प्रहरीमा रहँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको अभिव्यक्ति दिँदै आएको उनले बताएका छन् । ‘कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनवापत दिने व्यवस्था गरेतापनि निज रमेश खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी विभिन्न जिल्लामा हुँदा लाखौँ रुपैयाँ सुराकी रकम कमिसन लिएको बताएका थिए ।’, उनले भनेका छन् ।