काठमाडौँ महानगरपालिकाले महानगरभित्र संचालनमा रहेका विद्यालयमा अनुशासन इन्चार्ज अर्थात डिआई राख्न नपाउने बताएको छ ।
शुक्रबार एक सूचना जारी गर्दै महानगरले महानगरपालिकाभित्र संचालित केही विद्यालयहरुले डिआई राखेर विद्यार्थीलाई भय सिर्जना गराएको भन्दै विद्यालयमा डिआई नराख्न विद्यालयहरुलाई निर्देशन दिएको हो ।
‘काठमाडौँ महानगरपालिकाभित्र संचालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकरात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्नु नगराउने हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।
केही दिनअघि मात्र काठमाडौँको तिनकुनेमा रहेको हिमालयन ह्वाइटहाउस कलेजमा डिआईले विद्यार्थीमाथि दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका थिए ।