रुकुमपश्चिम । हिँडेर उपचार गर्न गएका बिरामीको मृत्यु भएपछि रुकुमपश्चिमको सदरमुकाम मुसिकोट तनावग्रस्त बनेको छ । ज्वरो आएपछि उपचार गर्न पुगेकी बिरामीको पिके औषधालयको लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तहरु आक्रोसित बनेका छन् ।
रुकुमपश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ७ घर भएकी ३४ वर्षीया बिमला खत्री मंगलबार उपचारका लागि सदरमुकामस्थित वेस्टर्न न्यू लाइफ हस्पिटल पुगेकी थिइन् । उनी करिब १० बजे उक्त औषधालय पुगेको एक आफन्तले बताए । उक्त मेडिकलले बिमलाको उपचार सुरु गर्यो । तर केही समयपछि बिमलाको अवस्था खराब हुँदै गयो । उनको मुखबाट रगत निस्कन थाल्यो ।
उक्त अस्पतालले बिमलाको उपचार संभव नदेखेपछि जिल्ला अस्पताल रिफर गर्यो । करिब २ बजेको समयमा आफन्तले बिमलालाई जिल्ला अस्पताल पुर्याएका थिए । तर जिल्ला अस्पताले बिरामीको अवस्था जटिल भएको र आईसीयूको अभाव भएको भन्दै बिरामीलाई नेपालगञ्जस्थित प्रादेशिक अस्पतालमा रिफर गर्यो । बिमलाको नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।
त्यसपछि आफन्तहरुले बिमलाको शव उनको सुरुमा उपचार गर्ने वेस्टर्न न्यू लाइफ हस्पिटल अघि राखेर बिरोध गर्न थाले । उक्त अस्पतालका डाक्टर जनक केसीको लापरबाहीका कारण बिरामीको मृत्यु भएको उनीहरुको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार अहिले मृतकका आफन्तले मेडिकल बाहिर शव राखेर बिरोध गरिरहेका छन् । उनका अनुसार मेडिकल र आफन्तहरुबीच सहमतिको लागि छलफल भईरहेको छ ।