काठमाडौँ। सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै सन्तानहरूलाई रवि र बालेनको समर्थन गर्नबाट रोक्न नसकेको स्वीकार गरेका छन् ।
बिहीबार एमालेको बागमती प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै नेता गुरुङले यस्तो धारणा राखेका हुन् । उनले रवि लामिछाने र बालेनको समर्थनमा एमाले नेताका छोराछोरी लागेको र त्यसलाई रोक्न नसकिएको बताए ।
रविको समर्थनको जुलुसमा एमाले नेताहरू छोराहरू गएको र एमाले नेताका छोरीहरू रविको पछि लागेको बताए । यस्तै, उनले बालेनको साइबर समूहमा एमाले नेताहरू छोराहरू रहेको बताए ।
आफ्नै छोराछोरीहरू आफ्नो बुबा आमाको पार्टीप्रतिको विश्वासमा नरहेको कुरा पार्टी नेता कार्यकर्ताले ध्यान दिनु पर्ने पनि उनले बताए । ‘हाम्रा छोराहरु रविको समर्थनको जुलुसमा छन् । छोरीहरू रवि र राष्ट्रिय स्वतन्त्र पार्टी भन्दै हिँडेका छन् । उता छोराहरू बालेनको साइबर समूहमा छन्,’ सञ्चारमन्त्री गुरुङले भने, ‘त्यहाँ हाम्रो नेताहरुको ध्यान पुगिरहेको छैन् । ’
कार्यक्रममा बोल्दै नेता गुरुङले पार्टीको भातृ विद्यार्थी सङ्गठन कमजोर भएको पनि बताए । नयाँ आउने विद्यार्थीहरू र युवाहरूका लागि पार्टी जोड्ने संयन्त्र कमजोर हुँदा पुराना पार्टीहरुप्रति युवा पुस्ता जोडिन नसकेको उनको चिन्ता थियो ।