राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा सत्ता गठबन्धन दुवै उम्मेदवार विजयी भएका छन् । बिहिबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अन्य क्लस्टरमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिला क्लस्टरमा जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् ।
निर्वाचित ढुंगानाले ७ हजार ३ सय ७० मतभार ल्याए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएकी हुन् ।
मधेश प्रदेशमा एमालेका तर्फबाट उषादेवी थरुनी र बिजेता झाले उम्मेदवारी दिएका थिए भने जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।
राष्ट्रिय सभा निर्वाचनमा मधेशका कुल १ सय ३६ पालिकाका सम्पूर्ण प्रमुख, उपप्रमुखले मतदान गरे भने १ सय ७ जना प्रदेश सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । मतदान नगर्ने एक सांसदमा लोसपाका अभिराम शर्मा रहेका छन् ।