काठमाडौँ । असंलग्न आन्दोलन (नाम)कोे १९औँ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फिर्ता भएका छन् ।
प्रधानमन्त्री दाहाल यही माघ ४ गते नामको शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा गएका थिए ।
सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा सम्पन्न भएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी थिए ।
प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गरेका थिए ।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्रप्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए ।