काठमाडाैँ । बिहिबार भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटना ट्राफिक प्रहरीले स्कुटर रोकेका कारण नभएको खुलेको छ । शुक्रबार सार्वजनिक भएको सिसिटिभि फुटेजमा सो स्थानमा चेकिङ्मा रहेका ट्राफिक प्रहरीले उक्त स्कुटर नरोकिएको देखिएको हाे।
सिसिटिभि फुटेजमा बिहिबार दिउँसो १ः५९ बजे भक्तपुरको गठ्ठाघरमा ट्राफिक प्रहरी नियमित चेकिङ गरिरहेको देखिन्छ । सोही समयमा कौशलटारबाट बा ४९प ८९४४ नम्बरको स्कुटर गठ्ठाघरतर्फ गइरहेको थियो । सोही दिशातर्फ ना६ख २१७३ नम्बरको मालवाहक ट्रक पनि गइरहेको देखिन्छ । गठ्ठाघरमा ट्राफिक प्रहरीको चेकिङ भइरहेको स्थान नजिकै अघि अघि गइरहेको सो स्कुटरलाई पछाडिबाट आइरहेको ट्रकले ठक्कर दिएर घिसारेको सिसिटिभि फुटेजमा देखिन्छ ।
सो दृश्यमा ट्राफिकले स्कुटरलाई रोकेको र रोकेको स्कुटरमा ट्रकले ठक्कर दिएको भन्ने भाष्य गलत साबित भएको छ ।
ट्रकले ठक्कर दिँदा स्कुटर चालकको शरीर क्षतविक्षत भयो । सोही समयमा चेकिङमा रहेका ट्राफिक प्रहरीले उक्त ट्रक रोक्न सडकमा कुदाकुद गरेको भिडियोमा देखिन्छ ।
बिहिबार भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा पर्दा उनको अनुहार चिन्न सक्ने अवस्था समेत थिएन । यतिसम्म कि प्रहरीले धेरै ढिलासम्म पनि दुर्घटनामा परेको व्यक्ति महिला हो की पुरुष हो भन्नेसमेत छुट्याउन सकेको थिएन । तर दुर्घटना हुनेवित्तिकै दुर्घटनास्थलमा ठूलो संख्यामा मानिस जम्मा भए । त्यो भीड आक्रोशित र एकत्रित भयो । ट्रक चालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भीड प्रहरीमाथि खनियो ।
उनीहरुले ट्राफिक प्रहरीले सडकमा जथाभावी ‘स्पीड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भीड ट्राफिक प्रहरीमाथि नै जाइ लाग्यो । सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागभाग भयो । कति ट्राफिक प्रहरीलाई त आक्रोसित भिडले लुगा च्यातेर कुटपिटमा उत्रिएको समेत देखिएको छ । तर फुटेज सार्वजनिक भएसँगै उक्त दुर्घटना ट्राफिक प्रहरीका कारण नभएको पाइएको छ ।
घटनापश्चात आक्रोशित भीडले ट्रक तोडफोडसँगै आगजनीको प्रयाससमेत गर्यो । त्यसपछि आक्रोशित भीड र प्रहरीबीच ढुङ्गा हानाहान भयो । स्थिति निकै तनावग्रस्त बन्यो ।
केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए । प्रहरीले प्रर्दशनकारीमाथि लाठीचार्ज गर्यो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्यो ।
तनावकाबीच प्रहरीले शव झिक्न निकै प्रयास गर्यो । टायरमुनी शव परेकाले तान्दा पनि आएन । त्यसपछि क्रेन ल्याएर शव झिक्न खोज्दा आक्रोशित भीडले अवरोध गरेपछि स्थिति पुनः तनावग्रस्त भयो ।
भीड नियन्त्रणका लागि भक्तपुरका एक सय १८ जना प्रहरी, काठमाडौँबाट आएका एक सय ३० जना प्रहरी र सशस्त्रका एक सय २३ जना परिचालन भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित भीडले प्रहरी बीट, ट्राफिक आइरल्याण्ड र प्रहरीका विभिन्न सामग्री तोडफोड गरेका छन् ।