२७ भदौ, काठमाडौं । वीरगञ्जस्थित बाल सुधार गृहमा कैदीबीच झडप भएको छ । गएराति अवेरसम्म सुधार गृहको अवस्था तनावग्रस्त बनेको थियो । आज बिहानबाट भने स्थिति सामान्य देखिएको पर्सा प्रहरीले जनाएको छ ।
सुधारगृहमा दुई समूहबीचको विवादले झडपको रुप लिएको थियो । झडपमा घाइते भएका एक केदीबन्दीको नारायाणी अस्पतालमा उपचार भइरहेको छ ।
विवादको कारण नखुलेपनि भक्तपुरबाट सारिएका कैदीबन्दी र त्यहीका पुराना कैदीबन्दीबिच विवाद भएको थियो । भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।
कैदीबन्दीको दुई समुहबिच भएको विवाद रोक्न बाक्लो संख्या प्रहरी परिचालन भएको थियो । तर आक्रोशित कैदीबन्दीले प्रहरी माथिनै ढुंगामुढा गर्नको साथै कारगार तोडफोड समेत गरेका थिए ।
वीरगञ्जस्थित बाल सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी रहेका छन् । भदौ ४ गते भक्तपुरबाट १८ कैदीबन्दी यहाँ थपिएको थियो । मंगलबारको तनाव उनिहरुलेनै निम्त्याएको सुधारगृह स्रोत बताउँछ ।