काठमाडाैँ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेको घोषणा गरेका हुन्।
पार्टी परित्याग गरेसँगै महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका छन्। पार्टीं परित्याग गर्दै उनले भनेका छन्, ‘वर्तमानको ठूलो अनिश्चितता र श्रमलाई चिर्न सक्ने वैकल्पिक राजनैतिक शक्ति दावी गर्दै केही नयाँ समूहहरुको उदय तथा पुराना शक्तिहरु भित्रको नयाँ पुस्ताले उठाएको रुपान्तरणको बहस सुनिरहेका नेपाली जनताहरुले न नयाँ
समूहहरुको उदय, न त पुराना शक्तिहरुको रुपान्तरण नै देखिरहेका छन्, बरु, उनिहरु अनिश्चितता तथा भ्रमले सृजना गरेको अविश्वास र शंकाको परिस्थितिलाई थप गिजोल्दै लाभ उठाउने अवसरवादी समुहहरुको रुपमा देखिएको छ ।’
यस्तै महतोले अहिलेको नेपाल राज्य एकल जातीय रहेको भन्दै अब आफूले बहुल राष्ट्रिय राज्य बनाउने योजना पनि सार्वजनिक गरेका छन्। ‘देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भई रहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न सकेन’, महतोले भने ।
त्यस्तै उनले पहिचानवादीहरु एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडी सुरु भएको पहिचानावादी आन्दोलन शासकीय षडयन्त्रको शिकार भइ अधुरो रहन गएको बताए । हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी उत्पीडित राष्ट्रियताहरु तथा देशमा सुशासन र समृद्धि चाहनेहरु सबै संयुक्त रुपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको महतोको भनाई छ ।
लामो समयदेखि लोसपाका अध्यक्ष महन्त ठाकुरसँग असन्तुष्ट उनले आगामी दिनमा नयाँ पार्टी बनाउने र लोसपा, जसपालगायत मधेशवादी दल तथा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरूसँग सहकार्य गरेर अगाडि बढ्न सक्ने बताए ।