सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा बनाइने दही छ्याप्ने जात्रा सम्पन्न भएको छ । एकआपसमा दही छ्यापाछ्याप गरेर यो जात्रा मनाइने गरिन्छ । विजयादशमीको भोलिपल्ट दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रासम्पन्न भएको हो ।
तेह्रौँ शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा यहाँबाहेक अन्त कतै नभएको र तौथलीको त्रिपुरासुन्दरी माईको मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका समाजसेवि विष्णु कुमार श्रेष्ठले बताए। महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गरेको खुसीयालीमा मल्लकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको श्रेष्ठले बताए । ‘गुठियार, स्थानीयले भैसीले सधै दुघ दिइरहोस् र पशुपालन, व्यवसाय सप्रिदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गरिएको हो । ुखासमा दही प्रसादको रुपमा बाँडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापाछ्याप गरिन्छ’, उनले भने ।
हनुमान ढोकाको दिगु तलेजुकी सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बली बडादसैँको फूलपातीबाट नै सुरु हुने गर्छ । विजयदशमीको फूलापातीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका प्रहरी समुदायले तिन वटा माछा चढाउँछन् । महाअष्टमीको दिन कालो रंगको बोकाको मात्रै बली दिइन्छ । दशमीको रात यहाँ वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव, कुमारी, चण्डी, स्याल कहनजस्ता नृत्य जात्रा हुन्छ ।