भारतको नयाँदिल्लीमा आयोजित जी-२० सम्मेलनले नयाँदिल्ली लिडर्स घोषणा पत्र जारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्ली लिडर्स घोषणा पत्रमा सहमति भएको र यसबाट इतिहास रहेको बताएका छन् । सामाजिक सन्जालमा एक्समा मोदिले लेखेको छन् ‘हाम्रो टिमको कडा परिश्रम र तपाईंहरु सबैको सहयोगबाट नयाँदिल्ली जी(२० लिडर्स घोषणा पत्रमा सहमती जुटेको छ । यो सहमतिसँगै नयाँ इतिहास रचिएको छ ।’ रुसी र युक्रेनको युद्धको विषयलाई लिएर यस्तो घोषणा पत्र जारी हुनेमा विज्ञहरुले शंका व्यक्त गरेका थिए ।
तर सम्मेलनमा सहभागी रुसलाई समेत नचिढाउने गरी घोषणा पत्र जारी गरिएको छ । भारतीय मिडियाहरुका अनुसार घोषणा पत्रमा ‘कुनै देशको क्षेत्रीय अखण्डता, सम्प्रभूता या राजनीतिक स्वतन्त्रताविरुद्ध बल उपयोगबाट जोगिनु पर्ने र परमाणु हतियारको प्रयोग वा प्रयोग गर्ने धम्की अस्वीकार्य छ ।’ अहिलेको युग युद्धको नभएको भन्दै संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्त अनुरुप काम गर्ने उल्लेख गरिएको छ ।
साथै सम्मेलनले चीनलाई चुनौती दिदै भारत मध्यपूर्व युरोप आर्थिक करिडोरको घोषणा गरेको छ । यो चीनले सुरु गरेको बीआरआई परियोजना जस्तै हो ।
बीबीसीका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत, मध्यपूर्व र युरोपलाई जोड्ने आर्थिक करिडोरको काम छिट्टै सुरु हुने बताएका छन् ।
घोषणपत्र जारी गर्दै मोदीले भनेका छन् ‘यसले पूरै विश्वलाई कनेक्टिभिटी र विकासको लागि दिगो बाटो देखाउने छ । बलियो सन्चार र भौतिक पूर्वाधार मानव सभ्यताको विकासको मूल आधार हो ।’ यसअन्तर्गत निर्माण हुने रेलवे मार्गबाट भारत र युरोपबीचको व्यापार सहज र छिटो हुने अपेक्षा छ ।
चीनको बीआरआईलाई चुनौती दिने परियोजना घोषणा गर्दा अमेरिकी राष्ट्रपति जो बाइडन, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र युरोपियन कमिसनका प्रमुख उर्सला वान डेर लियेनको पनि सँगै थिए ।