काठमाडौँ । त्रिभुवन विश्व विद्यालयका दुई पूर्व उपकुलपति र अख्तियारका तत्कालीन प्रमुख लोकमान कार्कीसमेत ७ जनालाई भ्रष्टाचार कसुरमा कारबाही गर्न शिक्षा मन्त्रीले सिफारिस गरेकी छिन् ।
चिकित्सा शिक्षामा भएको अनियमितता सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको दोषी देखिएकाहरूलाई कारबाही गर्न मन्त्रालयले सोमबार अख्तियारलाई पत्राचार गरेको हो ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले बुझ्न नमानेको ६ वर्ष पुरानो प्रतिवेदन २८ चैतमा शिक्षा मन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेकी थिइन ।
प्रतिवेदनले अख्तियारमार्फत कारबाही गर्नुपर्छ भनी दोषी देखिएकाहरूलाई प्रतिवेदन बमोजिम कारबाही गर्न शिक्षा मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
तत्कालीन न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले तयार गरेको प्रतिवेदन यस अघिको सरकारले लुकाएको थियो ।
मन्त्रालयले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिहरू तीर्थराज खनियाँ, हिराबहादुर महर्जन, विश्वविद्यालयका रेक्टर सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, विश्वविद्यालयका कानूनी सल्लाहकार नारायण खनाल, अख्तियार दूरुपयोग अनुसन्धान आयोग पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की र मेडिकल काउन्सिलका पूर्व रजिष्ट्रार डा नीलमणि उपाध्याय छन् ।