काठमाडाैँ । सरकारको प्रमुख घटक नेपाली काङ्ग्रेसले गृह मन्त्रालयमा आफैँले मागेको सचिव पाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव गोकर्णमणि दुवाडीलाई गृह सचिव बनाउने निर्णय गरेको हो ।
एक नारायण अर्याल मुख्य सचिव नियुक्त भएपछि गृह मन्त्रालय सचिव विहिन थियो । गृहमा सचिव हुन एक दर्जन काङ्ग्रेसी पृष्ठभूमिका सचिवहरूले रस्साकस्सी गरे पनि दुवाडीले जिम्मेवारी पाएका हुन् ।
गृह मन्त्रालयका अनुसार दुवाडीलाई गृहमा ल्याउनु पर्ने प्रस्ताव काङ्ग्रेसकै थियो । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पृष्ठभूमिका कर्मचारीमार्फत काङ्ग्रेसका मन्त्रीहरूलाई ‘चेक एण्ड ब्यालेन्स’ मा राखेको भन्दै आलोचना भइरहेको थियो ।
हालका मुख्य सचिव एवम् यस अघिका गृह सचिव एक नारायण अर्यालका कारण काम गर्नै नसकेको भन्दै गृहमन्त्री रमेश लेखकले पार्टी भित्रै गुनासो समेत गरेका थिए । उनले काङ्ग्रेसीहरूको हितमा मन्त्रालयले काम गर्न अर्यालको बढुवा या सरुवा हुने दिन कुरेका थिए ।
‘सरकारमा सहभागी पहिलो दलको सबै भन्दा ठूलो मन्त्रालयसमेत आफ्नो तरिकाले चलाउन नपाएको भन्दै असन्तुष्टि बढिरहेको थियो,’ काङ्ग्रेस पार्टी स्रोत भन्छ,‘ जसरी पनि कम्फरटेबल सचिव चाहियो भनेर दुवाडीलाई ल्याइएको हो । अब गृह मन्त्रालयको कामले गति लिन्छ ।’
मन्त्रालयमा कसैगरी पनि आफूले भनेको काम हुने सचिव नियुक्तिका लागि गृह मन्त्री लेखकले पार्टीको बल लगाएका थिए । बि. स. २०३२ मंसिर १९ मा धादिङमा जन्मिएका दुवाडीले २०५४ पुसमा सरकारी सेवामा प्रवेश गरेका थिए । नेपाल प्रशासन सेवाका उनी २०७७ मंसिर १० गते सचिवमा बढुवा भएका थिए ।
गृह सचिव दुवाडी विवादमा नमुछिएका र इन्ट्रोभर्ट स्वभावका नतिजामा विश्वास गर्ने प्रशासक हुन् । यस अघि उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा काम गरिसकेका छन् ।