३१ भदौ, ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् । प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो ।
आइसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो । कोभिड महामारीका बेला करोडौँ खर्चिएर उपकरण व्यवस्थापन गरिएको थियो । फुङ्लिङ नगरपालिका–५ का विक्रम लिम्बूले जिल्लामै आइसीयूका लागि उपकरण उपलब्ध भएर पनि सञ्चालनमा नआउँदा सेवाग्राहीलाई समस्या परेको बताए ।
विसं २०७८ कात्तिकमा अस्पतालमा रु ७१ लाख ५० हजारको लागतमा अक्सिजन प्लान्ट जडान र रु पाँच करोडमा सघन उपचारकक्ष शय्या (बेड) स्थापना भएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । जिल्ला अस्पतालमा आइसीयू सञ्चालनमा रहेको भए महामारीमात्र नभई अन्य सिकिस्त तथा गम्भीर प्रकृतिका बिरामीका लागि ठूलो राहत पुग्ने उनको भनाई छ । आइसीयू उपकरण भएर पनि सञ्चालनमा नआएका कारण सुविधाबाट बञ्चित हुनु भनेको दुर्गम हिमाली जिल्लाका सेवाग्राहीका लागि दुःखद् अवस्था भएको उनी बताउँछन् ।
जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईका अनुसार प्राविधिक जनशक्ति अभावकै कारण आइसीयू सञ्चालनमा नआएको हो । आइसीयू सञ्चालनका लागि प्रदेश सरकारसँग कुरा राख्दा प्राविधिक जनशक्ति उपलब्ध गराउन नसक्ने जवाफ पाएको अस्पताल विकास समितिका अधिकारीहरु बताउँछन् । समितिले प्रदेशबाट सहयोग नआउने जवाफ पाएपछि संघ पुग्ने तयारी गरेको छ ।
आइसीयू सेवा अभावकै सेवाग्राही जिल्ला बाहिर जानुपर्ने बाध्यता एवं कतिपयले ज्यानसमेत गुमाउनुपरेको बताइएको छ ।