काठमाडौँ । खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइने भएको छ । महानगरको सहरी योजना आयोगका अनुसार अहिले दुबो रोप्नका लागि ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ ।
सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइने र त्यसमाथि प्राकृतिक दुवो रोपिने आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले बताए । ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । विहान शारीरिक अभ्यास गर्न सकिनेछ । व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ । मर्निङ् वाक गर्न सकिनेछ । बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुनेछ,’ मराजभण्डारीले भने ।
महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालकाअनुसार उवडखावड भएको मैदानलाई समथर बनाउने, आवश्यकताका आधारमा सबै खालका सार्वजनिक उपयोगका लागि खुला मञ्चलाई उपयुक्त बनाउने योजना छ । खेल मैदानको जस्तो कृतिम दुवो नलगाइने पनि उनले प्रष्ट्याए । महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार अहिले दैनिक ५० जना जनशक्ति परिचालन गरेर जमिनमा भएका मसिना ढुङ्गा समेत टिप्ने काम भइरहेको छ ।